तेह्रथुम ।। ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकिय दृष्टीकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुना स्थलको रुपमा चिनाउनका लागि जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो । तेह्रथुमको सदरमुकाम म्याङलुङदेखि ६५ किलोमिटर उत्तरपूर्वमा रहेको खाम्लालुङमा सञ्चालन गरिएको होमस्टेको विशेषता भनेको गाउँले जनजीवन, सत्कार, खानपान र सँस्कृतीको आनन्द बटुल्नु हो । लिम्बु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लिम्बु जातीको साँस्कृतिक नाच तथा खानाका परिकार, भेषभुषा र लोप हुने क्रममा रहेका सङ्गीनी तथा बालन नाच पर्यटकले देख्न पाउँछन् । यस क्षेत्रका करिब एक दर्जन घरले पाहुना पर्खेर बसेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्राउने लक्ष्यले सुरु भएको होमस्टे प्रवद्र्धनका लागी आठराई गाउँपालिका वडा नं. २ ले बार्षिक रुपमा बजेट बिनियोजन गर्दै आएको वडाध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । लिम्बु जातिको बाहुल्य रहेको खाम्लालुङमा च्याब्रुङ, पालाम, यालाङ जस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक तान्ने ध्येयले गाउँपालिकाले समेत पर्यटन गुरुयोजना बनाई सम्भावित क्षेत्रहरुको डिपिआर तयार गर्न लागेको आठराई गाउँपालिकाका उपाध्यक्ष रुपादेवी कन्दङवा बताउनुहुन्छ । होमस्टेमा बस्न आउनेहरुलाई अर्गानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, याङ्बेन, किनेमा तथा स्थानीय परिकार खुवाउने गरिएको छ । यस क्षेत्रमा याकुम्बा गढि, झाँक्रीगुफा, मैयायक झरना, चमेरो ओढार, लिहि ढुंगा, अधेँरी खोला लगायतका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ भने कन्चनजङ्घा तथा कुम्भकर्ण लगायतका हिमश्रृङखलाहरुको पनि दृुष्यावलोकन गर्न पाइन्छ ।
ग्रामीण पर्यटनको विकासका लागि सामुदायिक होमस्टे सञ्चालन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।