जुम्ला ।। घरायसी काममै व्यस्त हुने जुम्लाका महिलाहरु अहिले कामकाजी बनेका छन् । सीप सिकेपछि जुम्लाका महिलाहरु सिलाइ बुनाइ, तरकारी खेती तथा व्यापार व्यवसाय गर्न थालेका छन् । चन्दननाथ नगरपालिका वडा नंं. ५ का जुनकली बोगटीको आफ्नै खुद्रा पसल छ । उहाँले घरको कामसँगै पसलको काम पनि गर्नुहुन्छ । खुद्रा पसलबाटै राम्रो आम्दानी हुने जुनकलीको भनाइ छ । चन्दननाथ नगरपालिका १० गैरगाउँका हस्तना न्यौपानेले सिलाइ बुनाइ गर्नुहुन्छ । आफैंले खोलेको दूधडेरी पनि छ । पहिले सीप नहुँदा घर व्यवहार धान्न मुस्किल थियो । हिजोआज सिलाइ बुनाइले जीवन सहज बनाइदिएको छ । चन्दननाथ नगरपालिका ६ छिनाका राज्यलक्ष्मी महत भने तरकारी बेच्ने गर्नुहुन्छ । दैनिक तरकारी बेचेर उहाँ मासिक १० हजार आम्दानी गर्नुहुन्छ । घरको काम, व्यवहार सबै हेरेर फुर्सदमा गरेको कामले आम्दानी दिएको उहाँको भनाइ छ । सिलाइ कटाइ व्यवसायमा लाग्नुअघि चन्दननाथ नगरपालिका ३ का रत्नकली नेपालीको समय घरकै काममा बित्ने गर्दथ्यो । आम्दानीको स्रोत थिएन । जब उहाँले सिलाइको सीप सिक्नुभयो र पसल खोल्नुभयो उहाँ आर्थिक रुपमा सबल हुनुभएको छ । रोजगार हुन र पैसा कमाउन जागिरै खानुपर्छ भन्ने मान्यतालाई विस्थापित गर्दैै जुम्लाका महिलाहरु आत्मनिर्भर बन्न थालेका हुन् ।
जुम्लाका महिलाहरु अहिले कामकाजी बन्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।