साच्चैँ के मधेश गरिब छ ? के अविकसित छ ? के ठगिएको हो ? के मधेश अपहेलित छ ? के मधेशीले अधिकार नपाएकै हो ? हो भने मधेशले थुप्रै नेताहरूलाई उत्पादन गरेको छ तर पनि मधेशमा विकासको लहर छैन ।
मधेशका समथर जिल्लाहरू उब्जाउ जमिन भएकाले राष्ट्रको अन्नको भण्डार मानिन्छ । नेपालको अर्थतन्त्रमा कृषिको योगदान ५ भागमा २ भाग हुन्छ । त्यो मधेशकै योगदानले हो । त्यसैले कृषि उत्पादनको अभिवृद्धिका लागि नै भनेर विगतका सुरूका १० वटा पञ्चवर्षीय योजनाहरूको लगानीमा निरन्तर मधेशका २४ जिल्लाले प्राथमिकता पाएको हो । बाग्मती, नारायणी, कोशी, गण्डकी, भैरहवा लुम्विनी, बाणगंगा, बबई, महाकालीजस्ता बडेमानका सिचाई आयोजनाहरू मधेशमै बने । तराइभित्रै एकहजार किमि लामो महेन्द्र राजमार्ग लगायत सबै जिल्ला सदरमुकामहरू जोड्ने महत्वपूर्ण पक्की सडकहरू छन् । विराटनगर, विरगज, गैडाकोट, बुटवल, नेपालगञ्जमा हजारौ उद्योगहरू छन् । क्षेत्रीय, उपक्षत्रीय, अञ्चल, जिल्लास्तरका दर्जनौ अस्पतालहरू, हजारौ विद्यालय, पचासौ क्याम्पसहरू, बैकहरू छन् ।
भारतीय सीमासंँगको सामिप्यता र भौतिक पूर्वाधारले जोडिएका कारणबाट सस्तोमा, शिक्षा, स्वास्थ्य एवं दैनिक उपभोगका वस्तुहरूको उपभोग गर्न पाउनुका अतिरिक्त कृषिसाधन तथा उत्पादनका लागि बजार पाउने सौभाग्य मधेशले छन् । तर पनि मधेश गरीब छ, अविकसित छ ।
संसदमा जनप्रतिनिधिका हिसाबले निर्वाचन क्षेत्रमध्ये मधेशमा ४८ प्रतिशत निर्वाचन क्षेत्र पर्छ । पछिल्लो जनगणना अनुसार मधेशमा ४८ प्रतिशत जनसंख्याको बसोबास छ । सांसदले पाउने बजेट र निर्वाचन क्षेत्रको बजेट पनि त्यसैले मधेशमै खनाइनुपर्छ ।
हजारौंहजार विघा जग्गाजमीनका धनी, प्राकृतिक स्रोत साधनको प्रचूरता, राष्ट्रको ठूलो लगानी खन्याएर निर्मित सडक, सिचाई, अस्पताल, शिक्षण संस्था, उद्योग, यातायातजस्ता पूर्वाधार सुविधाले भरिपूर्ण मुलुकको आर्थिक मेरूदण्ड मानिएको कृषि उपजमा अब्बल सिद्ध मधेश वा त्यहाँका बासी अहिले पनि राज्यबाट असन्तुष्ट छन् ।
प्राकृतिक एवं स्रोत साधन एवम् लगानीको दृष्टिले सुविधासम्पन्न हुदाँहुदै पनि मधेशको गरिवीको सूचक पहाडको भन्दा नराम्रो छ । यसको मूल कारकतत्व थिचोमिचोयुक्त मधेशको सामाजिक सांस्कृतिक आर्थिक वातावरण हो भने राजनीतिक विकृति र विसंगति पनि हो । सायद मधेशी नेताहरूमा अपेक्षित सामाजिक जिम्मेवारी भाव एवम् नेतृत्व क्षमता विकसित हुन नसकेरै होला, मधेशी मूलको बाहुल्यक्षेत्रमा समेत पहाडिया मूलका गिरिजाप्रसाद कोइराला, केपी ओली, भरतमोहन अधिकारी, लिला कोइराला, माधव नेपाल, आनन्द ढुंगाना, रामकृष्ण ताम्राकार, प्रकाश कोइराला, सुशिल कोइरालाजस्ता प्रसस्त नेताहरू मधेशी जनताको अत्यधिक मत पाएर नै विजयी हुन सके । जो जहा जन्मेपनि उसकोे समस्या राष्ट्रकै हो । राष्ट्रको सबै स्रोत प्रत्येक नागरिकको हो ।
मधेशको राजनीतिक शत्रु
मधेशका किन विकासले गति लिन सकेन भन्ने विषयमा विमर्श भएकै छैन । मधेशको विकास कुनै पनि मधेशी दलको एजेन्डा नै बन्न सकेको छैन । राजनीति, व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ हासिल गर्ने सशक्त माध्यम हुन नसक्दा नै मधेशको आर्थिक विकास र समृद्धि झन् ओरालो लाग्दो अवस्थामा देखिएको हो । राजनीतिको सम्बन्ध जनताको जीवनस्तर, आर्थिक उन्नति र प्रगतिसँग नरहेकाले पनि मधेशको आर्थिक विकास र समृद्धि ओरालो लाग्दो अवस्थामा पुगेको हो ।
मधेशका जिल्लाहरूको मानव विकास सूचकाँकसमेत गिर्दो अवस्थामा छन् । यस्तो अवस्थामा देखिएको राजनीतिक अस्थिरताले त्यहाँको अर्थतन्त्रको अवस्था झन् संकटग्रस्त हुने प्रायः निश्चित छ । जानकारहरूको भनाइमा आर्थिक रूपान्तरणको अनुभूति गराउन नसक्नु र जनताको जीवनस्तर बढाउन नसक्नुमा आर्थिक मुद्दामा राजनीतिक दलले आँखा चिम्लने प्रवृत्ति नै बढी जिम्मेवार भएको देखिन्छ । किनभने राजनीतिक र आर्थिक मुद्दासँगै जानुपर्नेमा राजनीतिक दल विकासभन्दा राजनीतिमा नै बढी केन्द्रित भएकाले पनि जनताको जीवनस्तर बढन नसकेको हो ।
मधेश सम्भावनाको प्रवल स्रोत भएको क्षेत्र हो । तर यो क्षेत्रलाई जहिले पनि राजनीतिको केन्द्र मात्र बनाइयो । विकास र समृद्धिको बाटोमा मधेशलाई अगाडि बढाउन आवश्यक छ ।
मधेशी जनतालाई आन्दोलनका लागि मात्र प्रयोग गर्दै आएका मधेशी दलहरूले अबका दिनमा निर्वाचनमा भोट लिनको लागि मात्र प्रयोग नगरी विकासको एजेन्डालाई प्राथमिकतमा राख्नुपर्छ ।
राष्ट्रिय राजनीतिमा मधेशका समुदायबाट प्रभावशाली नेताहरू पनि जन्माउन सफल भएका छन् । काँग्रेसका महेन्द्र नारायण निधी, विमलेन्द्र निधी, चित्रलेखा यादव, विजय कुमार गच्छदारदेखि नेकपाका माधव कुमार नेपाल, प्रभु साह, गिरिराजमणि पोखरेल, मातृका यादव, रघुवीर महासेठसम्म मधेशकै भोटबाट जितेर मन्त्री भएका हुन । अझ मधेशी दलका नेताहरू मन्त्री बन्नकै लागि पार्टी बनाएका हुन । उनीहरू पदमा रहँदा मधेशले गौरव गर्ने लायक कुनै भौतिक संरचना पाउन सक्यो ? उनीहरू सत्तामा रहँदा मधेशको विकासमा टेवा पुग्ने काम भयो ? निश्चित रूपमा भएको छैन । सरकारले गर्ने नियमित विकासको कार्यक्रमलाई आफूले गरेको देखाएर जनता ठग्ने प्रवृति उनीहरूले पटक पटक देखाउँदै आएका छन् । नेताहरूमा मधेशको विकास गर्नु पर्छ भन्ने चिन्तन नै छैन । मधेशलाई मात्र भोटका लागि उपयोग गर्ने यस्ता नेताहरूबाटै मधेश हैरान छ, प्रताडित छ ।
यस्तै राजनीतिकर्मीहरूका कारण मधेशप्रतिको छवि घुमिल हुँदै गइरहेको छ । किन उनीहरूले आफू पदमा रहँदा मधेशका लागि उल्लेखनीय र गौरव गर्ने लायक काम गर्न सकेको ? यसको स्पष्ट जबाब के छ भने सत्ता लिप्सा र संकीर्ण मानसिकता । त्यसैले मधेशबाट नेतृत्व गर्ने नेताले आफूलाई समयसापेक्ष अद्यावधिक गर्नु जरूरी छ ।
राजनीतिक अस्थिरता, सुशासनको कमी, सुरक्षा र लगानीमैत्री वातावरणको अभाव तथा रोजगारको क्षेत्रमा बढ्दो राजनीतिक स्वार्थका कारण मधेश आर्थिक रूपले समृद्ध हुन सकेको छैन । फलस्वरूप गरीबी र विपन्नताको दुश्चक्रबाट बाहिर निस्कन सकेको छैन । यसको सबैभन्दा बढी प्रभाव प्रदेश २ मा परेको छ ।
दलहरू, अझ बढी मधेशी दलहरूले विकासको मुद्दालाई पछाडि पार्दै राजनीतिक मुद्दा मात्र अगाडि बढाएको हुनाले पनि २०६२÷६३ सालदेखि सुरू भएको मधेश आन्दोलनले मधेशको विकासमा खासै भूमिका खेल्न सकेको छैन । मधेशमा जे जस्ता स्रोत, साधनहरू उपलब्ध छन्, त्यसैका आधारमा समग्र विकासमा ध्यान दिनु जरूरी छ । (मधेश दर्पण फिचर सेवा)