काठमाडाैं ।। मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल हुनेछ । आजको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । त्यसअघि नेकपाको सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकमा सहमति भएपछि मन्त्रिपरिषद् बसेर निर्णय गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले पद मुक्त गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को निर्णय भएर सिफारिस भई आए अनुसार नेपालको संविधानको धारा एक सय ६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिनुभयो । प्रदेश १ का प्रा डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त हुनभएको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो । सरकारले प्रदेश प्रमुखको पदमुक्ति गरेपछि काँग्रेसले भने सरकार उल्टो बाटो हिडेको प्रतिक्रिया दिएको छ । सीआईएनसंग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले गर्नुपर्ने अरु थुप्रै काम भएपनि अनावश्यक काममा हात हालेको टिप्पणी गर्नुभयो ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।