काठमान्डु ।। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार भइरहेको बताउनुभएको छ ।
चाडपर्वको अवसरमा नेकपाले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको बताउनुभयो ।
चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष दाहालले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको बताउदै यो भ्रमणको धेरै आयाम रहेका र त्यसको नयाँ महत्वपूर्ण पक्ष राष्ट्रपति सी चिनफिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी नेपालमा आएर सद्भाव, विश्वास र समझदारीको वातावरण बन्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उहाँको भनाइ थियो । अध्यक्ष दाहालले सकारात्मक ढङ्गले विकसित भएको मुलुकको संवैधानिक, कानूनी र राजनीतिक वातावरणलाई राष्ट्रिय एकताका साथ राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताले चाहेको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्ने आकाङ्क्षा पुरागर्न नयाँ सङ्कल्प गर्नु जरुरी रहेको बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रमलाई सङ्केत गर्दै अध्यक्ष दाहालले यसखालका कार्यक्रममार्फत प्रतिबद्धता राजनीतिक दलबीच सुदृढ एकता नै भएको बताउनुभयो ।