—उपेन्द्र झा
नेपाल गरिब मुलुक भएपनि सगरमाथाको देशको रूपमा विश्वमा आकर्षणको केन्द्र बनेको छ । दक्षिण एशियाका दुई ठूला महाशक्ति देश नेपालको छिमेकी रहेकोले यसलाई नजिकबाट हेर्न विश्वका पर्यटकहरू नेपाल आउन रूचाउँछन् । यहाँको गरिबी, भौगोलिक जटिलता, सर्वोच्च हिम चुचुराहरू, लामो हिमाली श्रृँखला, आकर्षक ताल तथा हिमताल, दुर्लभ प्राकृतिक सौंदर्यले भरिएको दर्शनीय स्थलहरू आदि कारणले विश्वका पर्यटक नेपाल आवत् जावत् गर्न रूचाउँछन् । विभिन्न विचार बोकेकाहरूको आकाँक्षा एकै ठाउँमा पूरा हुने भएकोले कालान्तरमा नेपाललाई उनीहरूले क्रीडास्थल बनाए ।
राजनीतिक, कूटनीतिक, धार्मिक, व्यापारिक विचार फैलाउने उद्देश्यबाट प्रेरित पर्यटकहरूको सहज स्वार्थपूर्तिमा नेपाल अनुकूल स्थल छनौट भएकोले विस्तारै यहाँ विदेशीहरू आउन थाले । नेपालले पनि विदेशी मुद्राको आमदानी प्राप्त गर्न थाल्यो । गरिव मुलुकका सरकारका अगुवाहरूको विदेशी मुद्रासंग अमिट सम्बन्ध बन्दै गयो । उपरोक्त हरेक विचारका पर्यटकहरूको प्रभाव विस्तारको मार्गमा धन प्रवाहित हुने भएकोले सरकार तथा प्रतिपक्षमा रहेका मानिसहरू सबै डलर कमाउनेतिर आकर्षित भए । वैदेशिक अनुदान सहयोगको लामो अभ्यासमा कथित राजनीतिज्ञहरू देश र समाजको विकास गर्नुभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने कार्यलाई प्राथमिकतामा राखेकोले माँगी खाने संस्कारको विकास भयो ।
कालान्तरमा शक्तिकेन्द्रमा बस्ने र डलर कमाउने सरकारमा भएकाहरूको प्रमुख एजेण्डा बन्यो । यही प्रतिस्पर्धामा काँग्रेस, कम्युनिष्टलगायत विभिन्न राजनीतिक दलको जन्म भयो । शासनसत्तामा सबैको सहभागितालाई राजतन्त्रको एकल शासन प्रणालीले निषेध गरेका कारण ठूल्ठुला आन्दोलन भएर राजतन्त्रको अन्त भयो । तर विचारभन्दा धनलाभ सत्ताको एकल एजेण्डा यथावत् रह्यो ।
मुट्ठिभर सामन्ती शासकको स्वेच्छाचारिताले आफ्ना आफन्तको स्वार्थबाहेक जनताको अपेक्षा सम्बोधन गर्न सकेन भनेर राजाको विरूद्ध समाजवाद र साम्यवादको स्कूल खोलेर जनताको जनचेतना बढाउने प्रयास गरि ठूल्ठुला जनआन्दोलन ल्याएर नयाँ दर्शनशास्त्रीहरू सत्तारोहण गरे । तत्कालीन शासकभन्दा फरक जन अपेक्षा पूरा गर्ने लोकतान्त्रिक शासन पद्धतिद्वारा देशलाई समृद्ध बनाउने प्रतिबद्धता अनुसार लोकतान्त्रिक सरकार बन्यो । राज्यसत्ता हस्तान्तरण हुँदा त्यसको प्रमुख अंगको रूपमा रहेको लूटतन्त्र पनि सहजै हस्तान्तरण भयो । तत्कालिन सत्तामा “निरंकूश लूटतन्त्र” लाई सहजै पचाउन नसक्ने समाजवादी र साम्यवादीहरूले हस्तान्तरण भई आएको लूटतन्त्रलाई “लोकतान्त्रिक लूटतन्त्र” को आवरणमा स्वीकार ग¥यो । यसरी यो पारम्पराले निरन्तरता पायो ।
उदारवादी सामन्तहरूको जत्था नेपाली काँग्रेस र तत्कालीन एमाले ०४६ सालपछि लूटतन्त्रको भव्य महलमा प्रवेश गरेपछि त्यहाँको सौंन्दर्य र आरामदायी वातावरणले विस्तारै जनताप्रति उदासीन बनायो । त्यहाँभित्र शक्तिकेन्द्रहरूको असिमित खजानाले सबैलाई लोभ्यायो र भ्रष्ट बनायो । यिनीहरू “पहिले आफ्नो भित्र, अनि देवता पित्र” भन्ने उखान चरितार्थ गर्नेतर्फ लागे । सत्तामा नआई यो “स्वर्गभोग” प्राप्त हुँदैन । सत्तामा आउन महँगो चुनाव लड्न पैसा नभई हुँदैन । यही उद्देश्य सबैको सिद्धान्त बन्यो । जन अपेक्षाप्रति उदासीन बनेको लोकतान्त्रिक सरकार बदनाम भयो । त्यहीबेला दायित्व र जिम्मेवारी वहन गर्न नसक्ने निकम्मा सरकारको विरूद्ध जनताको असन्तुष्टतालाई समेटेर माओवादीले सशस्त्र युद्ध संचालन ग¥यो । यसले निकै जन समर्थन पाएर सहजै सत्ता आरोहण ग¥यो ।
माओवादी लूटतन्त्रमा युद्धकालदेखि नै अभ्यासरत रहेकोले उनलाई सम्वैधानिक लूटतन्त्रको भव्यमहलमा बडो आदरका साथ प्रवेश गराईयो । अब त्रिकोणात्मक शक्ति नेपाली काँग्रेस, एमाले र माओवादी (ब्रह्मा, विष्णु र महेशको रूपमा) स्वर्गमा निर्बाध स्थापित भए । यसरी यहाँ सतहमा अभ्यासमा लोकतान्त्रिक शासन पद्धति देखिएपनि यसको पाश्र्वमा लूटतन्त्रको परम्पराले नै निरन्तरता पाएको थियो । शीर्ष नेताहरू जित्न कै लागि चुनावमा ८–१० करोडसम्म खर्च गरि जसरी पनि सत्तामा बनि रहने तथा कुबेरको भण्डारबाट भागबण्डा लिई रह्ने उद्देश्यबाहेक उनीहरूमा अरू केही देखिदैन । जनताका लागि सतही रूपमा केही सुधारका कुरा देखाएर चोखो बनि रह्ने सबैको समान उद्देश्य छ ।
परम्परागत रूपमा संस्थागत भएका लूटतन्त्रले भ्रष्टाचारको अभेद्य दुर्ग नै बनाई सकेको छ । राजतन्त्रले देशको ढुकुटी नै सिध्यायो भनेर गगनभेदी आवाज घन्काउने परिवर्तनकारी शक्तिको पालामा चरम भ्रष्टाचार भएको कुरा यत्र तत्र सर्वत्र भएको छ । व्यक्तिगत धनलाभको प्रवृतिले सबैको सैद्धान्तिक धरातल खस्काई दिएको छ । पैसाका लागि जेपनि गर्ने कथित राजनेताहरूलाई न राष्ट्रियता छ, न नैतिकता नै । न दायित्व बुझ्छ, न जिम्मेवारी नै । सत्तामा आउने, भ्रष्टाचार गरि चुनावका लागि अकूत सम्पत्ति कमाउने, चुनाव लड्ने फेरि सत्ता प्राप्त गर्ने यही प्रक्रियामा अहिले भएका राजनीतिक दलहरू लिप्त छन् । हारेका वा जिम्मेवारी नपाएका नेकपा कै शीर्ष नेताहरू यो सरकारभन्दा राजालाई असल देखाएर क्रान्तिकारी भाषण गर्न चुक्दैन ।
जतिसुकै क्रान्तिकारी भाषण गरेपनि सबैको उद्देश्य भ्रष्टाचार गर्ने नै हो । सुशासन मृगतृष्णा जस्तै जनतालाई भ्रममा राख्ने शासकवर्गको साजिश मात्र हो । यहाँको भ्रष्टाचार राजनीतिक नारा होइन, तथ्याँकीय प्रमाणका आधारमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भएको छ । दुईतिहाई बहुमत ल्याउने नेपालको पहिलो ऐतिहासिक सरकार नेपालको यावत् समस्या हल गर्ने जनताको आशालाई निराशामा परिणत गरि दिएको छ । सरकारलाई के कति कारणले अकर्मण्यता छोएको छ, थाहा छैन । जिम्मेवारी र दायित्व बिर्सेको अवस्थामा शासनको बागडोर गतिहीन हुन्छ र देश यथास्थितिमा धेरै दिन रह्न सक्दैन । त्यसैले विभिन्न बहानामा जनआक्रोश फुट्न थालेको हामीले देख्न थालेका छौं ।
लोकतन्त्र आएको ३० वर्ष भयो । देशको उन्नति, प्रगति, आत्मनिर्भरता, धर्म, संस्कृति, नैतिकता, ईमान्दारिता, सामाजिक सद्भाव, स्वाभिमान सबै भडखालोमा जाकिएको छ । राजनीतिमा यी कुराहरू केही नभएर छल, कपट, जाल, फरेव, धोका, नैतिकहीनता तथा भ्रष्टाचार मात्र रहेकोले देशमा शक्तिशाली सरकार भएपनि चारैतिर असन्तोष, विरोध र अराजकताको वातावरण विद्यमान छ । देशमा सरकार भएको अनुभूति जनताले गर्न पाई रहेको छैन । आफ्नो धर्म संस्कृति, स्वाभिमान बेचेर भएपनि शीर्ष नेता भनाउँदाहरू शक्तिकेन्द्रहरूसंग पैसा थुत्ने भिखारी जस्तै चरित्र बनाएका छन् ।
नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बीहरूको बसोवास रहेको अवस्थामा क्रिश्चियनहरूसंग पैसा खाएर देशलाई धर्मनिरपेक्ष बनाउने धुरन्धर राजनीतिज्ञहरू १३ वर्षमा न उत्पादनको क्षेत्रमा प्रगति गर्न सक्यो न उद्योगधन्धालाई गतिशीलता प्रदान गर्न सक्यो । प्रगति चाहिं के देखिएको छ भने क्रिश्चियनको संगठन व्यापक विस्तार भएको छ । शीर्ष नेताहरू अब खुल्लमखुल्ला हिन्दूधर्मको विरोधमा भाषण गर्दै ईसाईधर्मको प्रचारक बनी हिंडी रहेको देखिन्छ । यिनी परिणामको वास्ता नगरि हिन्दूधर्म मास्ने हिसावले क्रिश्चियनसंग पैसा लियो, अब कसैले हिन्दूधर्मको संरक्षण गर्न पैसा दियो भने यिनी त्यो सम्झौता गर्न पनि पछाडि हट्दैन ।
संस्थागत भ्रष्टाचारको अभेद्य दुर्गको रूपमा रहेको राज्यसत्ता अगाडि जो आए, निस्तेज भएर आत्म समर्पण गरे । देशको बहुमुखी विकासका वैज्ञानिक एजेण्डाहरू अवधारणा पत्रमा लेखे पनि राज्यसत्तामा जाँदा उसकै अवधारणामा हिंड्न नेताहरूलाई आनन्दानुभूति भएकोले सबैले बाहिरका मन्त्र बिर्सेका छन् । जनतालाई उचालेर यिनले आन्दोलन गराए । जनताका छोराछोरीलाई शहादत दिलाए । जो बचे उनलाई विदेश जान बाध्य पारे । न आफ्नो अस्तित्व बचाउन सक्यो, न जनता न देशको । जेसुकै भएपनि यिनको देश बेचेर भएपनि पैसा कमाउने बानीमा किञ्चित परिवर्तन आएको देखिदैन ।
ईसाईकरण गरेर नेपाललाई कब्जा गर्न लागेको विदेशी ताकत अब यहाँ आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्न लागेका घटनाहरू सार्वजनिक हुन लाग्दा नेपालको अस्मिता खतरामा गएकोबारे बल्ल नेपाली जनताको चेत खुल्न थाल्यो र कुना काप्चाबाट हिन्दू राष्ट्र बनाउने आवाज सशक्त रूपमा उठ्न थाल्यो । नेपाली जनताको ठूलो हिस्सामा ईसाईको स्थाई प्रभाव रहेको कुरा यहाँ अब राष्ट्रिय समस्याको रूपमा आएको छ । यी सम्वेदनशील समस्याप्रति चीन र भारत पनि गम्भीर भई नेपालको अस्मिता जोगाउन हिन्दू राष्ट्र हुनु पर्ने आवश्यकतालाई सहर्ष स्वीकार गरेको छ । हेरौं यो परिस्थितिमा अहिलेको सरकार कसरी बिजनेस गर्दछ ।(मधेश दर्पण फिचर सेवा)

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply