धनकुटा ।। धनकुटाको नाम्जे थुम्की पर्यटकिय गन्तव्यको रुपमा बिकसित हुदै गएको छ । नाम्जे थुम्कीमा मगर समुदायले चलाएको होम स्टे प्रभावकारी हुँदै गएपछि नाम्जेमा पर्यटकहरु पनि बढ्दै गएका छन् । साँगुरीगढी गाउँपालिका–६ मा अवस्थित नाम्जे थुम्की भेडेटार बजारबाट ४ किलोमीटर दक्षिण पूर्वमा पर्छ ।
अमेरिकाको समाचार एजेन्सी सिएनएनले विश्वको १२ औं अनौठो गन्तव्य स्थल मध्ये नाम्जेलाई आठौं गन्तव्यस्थलको रुपमा घोषणा गरेपछि यहाको चर्चा झनै चुलीएको हो । पछिल्लो समय यहाँ सञ्चालित होमस्टे पर्यटकहरुको रोजाईमा पर्न सफल भएको छ । भेडेटार आउने पर्यटकहरु अनिवार्य रुपमा एक पटक नाम्जे पुग्छन । होमस्टे र मगरहरुको हुर्रा नाच हेरर फर्कने गर्दछन् । समुन्द्र सतहबाट १ हजार ५ सय ८५ मिटर उचाईमा रहेको नाम्जेमा ९५ प्रतिशत मगरजातिको बसोबास रहेको छ । मगरहरुको मौलिक संस्कृतिको संरक्षण र संम्बद्र्धन गर्दै यहाँ उत्पादित बस्तुहरुको अधिकतम उपयोग गर्नको लागि होमस्टे संचालन गरिएको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताउनुभयो ।
२०७० साल माघदेखि होमस्टे संचालन गर्न शुरु गरिएको नाम्जे थुम्कीमा अहिले २२ घरमा होमस्टे सेवा संचालन छ । होमस्टेमा समुहमा आउने पर्यटकहरुको रोजाईमा स्थानीय मौलिक हुर्रा नाच पनि प्रस्तुत गर्ने गरिन्छ । दैनिक एक सय जनालाई खानबस्नको व्यवस्था मिलाइएको होमस्टेमा पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीको परिवार बढी मात्रामा आउने गरेको स्थानीय समाजसेवी तथा होमस्टे संचालक गुञ्जमान मगरले बताउनुभयो । होमस्टेमा झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका देशका विभिन्न स्थानहरुबाट पर्यटकहरु घुम्न र बस्न आउने गर्दछन् । नाम्जे थुम्की होमस्टेमा घुम्न पर्यटकहरुले सूर्याेदय, बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरी रहेका टावर, नाम्जेडाँडाबाट तराईका समथल भु–भागहरुको अवलोकन पनि गर्न सक्दछन् ।
त्यस्तै नाम्जे थुम्की वरपर रहेका भेडेटारको पाथीभरा मन्दिर, ओख्रेको भ्यू–टावर, नमस्ते झरना, डाँडाबजारको ध्वँजेडाँडा, एशियाको सबैभन्दा ठूलो बरको बोट, चौविसको रानीताल, लगायतका पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिने ग्रमिण जनता माविका प्राचार्य टंक बहादुर भजेलले बताउनुभयो । नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गर्दै नाम्जे थुम्की होमस्टे व्यवसायी तथा होटल व्यवसायीहरु तयारीमा जुटेका छन् । पर्यटन बर्ष २०२० मा कम्तीमा पनि ५ लाख पर्यटकहरुलाई भेडेटार लगायत नाम्जे आसपासका क्षेत्रमा भ्रमण गराउने योजनामा रहेको होटल एसोसीएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुमदाली राई बताउनु हुन्छ ।