काठमाडौं ।। पछिल्ला वर्षमा विद्यार्थीको सिकाई क्षमता र समग्र उपलब्धी खस्किंदै गएको विभिन्न अध्ययनले देखाएको छ । सामूदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार उपलब्धी हाँसिल हुन नसकेको सरकारी अध्ययनले नै देखाएको हो । २०६८ सालदेखि हरेक वर्ष विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षण गर्दै आएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७४÷०७५ मा कक्षा ५ का विद्यार्थीको नेपाली र गणित विषयको उपलब्धी परीक्षण गर्दा सिकाइ उपलब्धी झन् घट्दो क्रममा रहेको देखिएको केन्द्रको विद्यार्थी उपलब्धी राष्ट्रिय परीक्षण युनिटका प्राविधिक अधिकृत श्यामप्रसाद आचार्यले सीआईएनसँग बताउनुभयो । परीक्षणमा विद्यार्थीलाई सम्झन सक्ने, सामान्य बुझ्ने, बुझेका कुरा व्यवहारमा उतार्ने र विश्लेषण गर्ने खालका प्रश्न राखिएका थिए । नेपाली विषयमा ५५ प्रतिशत विद्यार्थीले न्यूनतम उपलब्धी पनि हाँसिल नगरेको उहाँले बताउनुभयो । ३२ प्रतिशत विद्यार्थी गणितको एउटा पनि हिसाब गर्न नसक्ने देखिएका छन् । ३९ प्रतिशत सामान्य जोडघटाउ गर्न सक्ने अवस्थाका छन् । कक्षा ५ का ४ प्रतिशत विद्यार्थी आफ्नो कक्षाभन्दा निकै माथिका छन् । गणित विषयमा ७२ प्रतिशत विद्यार्थीले सिकाउन खोजेको न्यूनतम कुरा पनि नजानेका देखिन्छ । साना कक्षामा बालबालिकाले सिक्नुपर्नेजति ज्ञान नसिक्दा यस्तो अवस्था आएको शिक्षाविद् डाक्टर प्रमोद भट्टको भनाइ छ । घरमा अध्ययनका लागि पर्याप्त समय र स्रोत पाएका, अभिभावको समय र सहयोग पाएका, अतिरिक्त क्रियाकलाप, साहित्यीक पुस्तक पढ्न पाएका विद्यार्थी विद्यालयमा अब्बल देखिएका छन् । नियमित कक्षामा उपस्थित हुन नपाएका, साथीभाइबाट हेपिएका र हिंसामा परेका अनि शैक्षिक सत्रको अन्तिमसम्म पनि पाठ्यपुस्तक नपाएका विद्यार्थी निकै कमजोर देखिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here