चञ्चल कुमार झा
राैतहट ।। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ राैतहट शाखाको सम्पन्न निर्वाचनमा दिपेन्द्र कुमार मिश्र निर्वाचित हुनु भएको छ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्य समिति रौतहटको शनिबार भएको निर्वाचनकाे अबेर राती आएको नतिजामा राैतहटकाे दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरी निवासी न्यु युनाइटेड बुक तथा स्टेसनरी सेन्टर, गौरका सञ्चालक दिपेन्द्र कुमार मिश्र जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ।
रौतहट जिल्लाको मध्य भाग गरुडामा रहेको एन प्लाजाको सभाहलमा सम्पन्न निर्वाचनमा मिश्रले आफ्ना प्रतिद्वन्द्वी चन्द्रनिगाहपुरका पुस्तक व्यवसायी विशाल जित तमाङलाई १ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गर्नुभएको हो।
निर्वाचन अधिकृत नव निधि पन्तका अनुसार जिल्लामा मतदान गर्ने मतदाताकाे कुल संख्या ५४ रहेकाे मध्ये ५२ जना पुस्तक व्यवसायी मतदान गर्नु भएको थियाे ।
निर्वाचनमा मिश्रले २६ मत प्राप्त गर्नुभयो भने तमाङले २५ मत प्राप्त गर्नुभएको थियो। खसेका कुल मतमध्ये १ मत बदर र ५१ वटा मत सदर भएको निर्वाचन अधिकृत पंतले हिमालय टाइम्सलाई जानकारी दिनु भएको छ ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्य समिति रौतहटका नव निर्वाचित अध्यक्ष मिश्रले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण व्यवसायीप्रति आभार व्यक्त गर्नुभयो।
पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको हक–हित, समस्या समाधान र व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउने मेरो मुख्य प्राथमिकता हुने अध्यक्ष मिश्रले जानकारी दिनु भएको छ ।
सबै व्यवसायीलाई साथमा लिएर महासंघलाई अझ सशक्त र एकताबद्ध बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
अध्यक्ष मिश्रले आगामी दिनमा जिल्लाभरिका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूबीच आपसी समन्वय बढाउने, व्यवसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तथा सरकारी निकायसँग सहकार्य गर्दै व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने योजना रहेको पनि बताउनु भएको छ ।
निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै सहभागी व्यवसायीहरूले नयाँ नेतृत्वबाट व्यवसायीहरूको हक–हितका लागि सकारात्मक र प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here