रौतहट।। रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले सवारी दुर्घटनाको बढ्दो दरलाई न्यूनीकरण गर्नका लागि प्रविधिको सहायताले सवारी निगरानीलाई थप प्रभावकारी बनाउनु पर्ने धारणा राखे। उनले भने, “अब जिल्लाका मुख्य सडकहरूमा सवारी गतिमापन क्यामरा जडान गर्न ढिलाइ गर्नु हुँदैन। चालकको लापरवाही, मादक पदार्थ सेवन र लागूपदार्थको प्रयोगले दुर्घटना निम्त्याउने गरेका छन्। हामीले यी सबै कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ।”

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी विनोद खडकाले सवारी दुर्घटनाबाट हुने मृत्युको भयावह अवस्थालाई संकेत गर्दै देशमा दैवी प्रकोपभन्दा सवारी दुर्घटनामा बढी नागरिकको ज्यान जाने तथ्य उल्लेख गरे। उनले भने, “हाम्रो कमजोरी व्यवस्थापनमा हो। जनचेतनाका कार्यक्रम मात्र होइन, कडाइका साथ कानुनको कार्यान्वयन जरुरी छ।”

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सवारी दुर्घटनाका विविध कारणहरूमध्ये मुख्य कारण चालकको लापरवाही भएको स्पष्ट पारे। उनले जनमानसमा चेतना फैलाउनका लागि यस्ता ट्राफिक साप्ताह कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। “सडकमा सावधानी भनेको जीवनको सुरक्षा हो,” गिरीले भने, “जबसम्म जनजनमा यसबारे स्पष्ट बुझाइ हुँदैन, तबसम्म हामीले अपेक्षा गरेजस्तो सुधार देख्न सक्दैनौं।”

कार्यक्रमको अध्यक्षता गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेंद्र अधिकारीले ट्राफिक साप्ताहलाई सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने एउटा अवसरका रूपमा प्रयोग गर्न सबै सरोकारवालालाई आग्रह गरे। उनले ट्राफिक नियम पालन नगर्दा हुने नकारात्मक असरहरूबारे समाजमा गहिरो बहस र संवाद आवश्यक रहेको बताए।

समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारी, सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेत, नारायण दल गण गौरका मेजर ऋषिकेश थापा, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्की, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाललगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

ट्राफिक साप्ताहको प्रारम्भ सहरका मुख्य मार्गहरू हुँदै निकालिएको प्रभातफेरीबाट गरिएको थियो। प्रभातफेरी गौरको बीपी चौकबाट सुरु भई विभिन्न स्थानहरू परिक्रमा गर्दै सभाहलमा पुगेर मञ्चीय कार्यक्रममा परिणत भएको थियो। स्थानीय संगीत, बाजागाजा र सूचना मूलक प्लेकार्डहरूका साथ निकालिएको उक्त प्रभातफेरीले आम सर्वसाधारणको ध्यान आकर्षण गरेको थियो।

कार्यक्रममा विद्यार्थी, चालकहरू, ट्राफिक प्रहरी र सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो। उपस्थितहरूले ट्राफिक नियमबारे सचेतनामूलक सन्देशहरूको आदानप्रदान मात्र गरेनन्, बरु आफूले यस्ता नियमहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि व्यक्त गरे।

ट्राफिक साप्ताहको सन्देशलाई प्रभावकारी ढंगले फैलाउन यस्ता सार्वजनिक र सहभागितामूलक कार्यक्रमहरूको निरन्तरताले मात्र सडक दुर्घटना न्यूनीकरणमा सार्थक योगदान पुर्‍याउने विश्वास कार्यक्रम आयोजकले लिएका छन्। ट्राफिक साप्ताहका अन्य कार्यक्रमहरू आगामी दिनहरूमा विभिन्न विद्यालय, बजार तथा सार्वजनिक स्थलहरूमा हुने जनाइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here