सिरहा ।। सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको पाईएको छ। मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको काम गरीरहेको पाईएको हो।
कानुनतः मन्त्रालयहरुले जिल्ला स्थिति पुर्वधार बिकास कार्यालय वा सम्बन्धित वडामा योजनाको उपभोक्ता समिति गठन गर्न चिट्ठी पठाउनुपर्ने प्रावधान छ। तर, वन मन्त्री साह आफै वडा अध्यक्षहरुलाई आर्थिक प्रलोभन देखाएर काम गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक वडा अध्यक्षले जानकारी दिए। उनले भने, ‘प्रदेश सरकारको योजनामा परेका चिट्ठी उपभोक्ताले जिल्लास्थित पुर्वाधार बिकास कार्यालयमार्फत पाउनुपर्ने हो। तर, वन मन्त्री साह आफै चिट्ठी बोकेर वडामा आईरहेका छन्। योजना लिने हो भने पहिले नै कमिशन दिनुपर्यो, अन्यता मन्त्रीले भनेजस्तो उपभोक्ता समिति गठन गर्न आर्थिक प्रलोभन सम्म दिने गरेको छ।’
निवार्चित भएकै दिन मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले ‘म एक रुपैयाँ पनि भ्रष्टाचरी गर्दिन, जनताको पक्षमा अवाज उठाउँछु, मैले भ्रष्टाचार गर्योभने, मलाई यो क्षेत्रमा जुत्ताको माला लगाएर घुमाउनु’ भन्दै ठुलठुलो भाषण छाँटेका थिए। तर, जनमत पार्टी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बने लगतै साह भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्यहरु बाहिरिन थालेको छ।
यतिमात्र हैन मन्त्री साह नामको लागि उपभोक्ता समिति गठन गरेर योजनाका काम भने आफैले गराइरहेको पुष्टि हुने प्रमाण प्राप्त भएको छ। मन्त्री साहले नै मिर्चैया नगरक्षेत्रभित्र सडक ग्राभेलिङ तथा स्तरवृद्धि कार्यकालागि करोडौं रकम बिनियोजन गराएराएका छन्। सो योजनाको लागि उनले अनाधिकृतरुपमा ग्राभेल उत्खनन् गराएर स्टोक गरी राखेको छ। आफैले केही कामहरु गर्नुपर्ने भएकाले ग्राभेल स्टोकगरी राखेको मन्त्री साहले स्वीकार गरेका छन्। उनले सिरहाको मिर्चैया नगरपालिका ५ स्थित शिला पेट्रोल पम्पको पछाडी भारीमात्रामा अनाधिकृत रुपमा उत्खनन गरिएको ग्राभेल डम्पिङ गरेर राखेका छन्।
ग्राभेल मन्त्रीकै हो या होईन भनी बुझ्न सिरहा संवादाता मुकेश कुमार यादबले उपभोक्ता समिति बनेर मन्त्री साहसँग सम्पर्क गर्दा उनले ढुक्कसँग भने, ‘यो मेरै ग्राभेल हो। आफनै योजनामा प्रयोग गर्न ल्याएको हो। मेरो काम भएपनि बढी भएको ग्राभेल बेच्छु। तपाईलाई कति टिप चाहिएको हो? कसरी लिने हो?’ भन्दै मन्त्रीकै यस्तो अभिव्यक्तिले उनी आफैं ठेक्केदार भएर योजना निमार्ण कार्य गराईरहेको पुष्टि हुन्छ।
मधेस प्रदेशमा हहिले जनमत पार्टी नेतृत्वको सरकार छ। एकातिर पार्टी अध्यक्ष सिके राउत भ्रष्टाचारविरुद्ध चर्को स्वरमा बोलिरहेका हुन्छन्। तर, उनकै पार्टीले नेतृत्व गरीरहेको प्रदेश सरकारमा आफ्नै पार्टीका मन्त्रीहरु खुलेआम योजना खरिद विक्री तथा ठेक्केदारी गर्ने कार्यमा लिप्त छन्। अध्यक्ष राउतले यो क्रियाकलापलाई नजरअन्दाज गरे आगमी दिनमा पार्टीको अवस्था रसातलमा पुग्ने निश्चित रहेको उनकै कार्यकर्ताहरु दुखेसो गर्छन्।
प्रदेश उपभोक्ता कार्यविधि अनुसार मन्त्रालयले विनियोजन गरेको योजनाको चिट्ठी सिधै वडा कार्यालयमा जानुपर्ने प्रावधान छ।
तर, मन्त्री साहले आफनो आसेपासे, कार्यकर्ता तथा स्वयम् आफैपनि योजनाका चिट्ठीहरु लिएर वडा वडामा गएर वडा अध्यक्षहरुलाई पचास हजार देखि एक लाख सम्मको प्रलोभनमा पार्ने प्रपञ्च रचिरहेको नाम नखोल्ने शर्तमा एक वडा अध्यक्षले बताए। उनले भने, ‘नामकै लागी उपभोक्ता समिति गठन गर्ने गरी मन्त्री साह आफैले ठेक्केदार पनि खटाउने गरेको छ। उनले थपे, ‘वन तथा वतावरण मन्त्री त्रिभुवन साह आफैले योजनाको चिट्ठी हातमै लिएर पनि आउनु हुन्छ, उपभोक्ता समिति गठन गर्न समनव्य गरीदिएवापत पचास हजारको अफर नै गरे। रकमको बार्गेनिङ गर्नथालेपछि मैलै मन्त्री साहलाई प्रकृया पुरा गरी चिट्ठी आए मात्र प्रकृया अगाडी बढाउने भनेपछि मन्त्री निस्कनु भयो।’
मिर्चैया नगरपालिकाका ११ का वडा अध्यक्ष चन्द्रदिप यादव भन्छन्, ‘मन्त्रीले मन्त्रालय, पुर्वधार विकास तथा वडा अध्यक्ष समेतसंग आफैले आर्थिक सेटिङ गरी योजनाको डिजाइन, बजेट र कार्यान्वयन प्रक्रिया समेत मिलाउने गरीरहनु भएको छ।’ उनले थपे, ‘सबै प्रकृया ‘सेटिङ’ अनुसार नै अगाडि बढ्छ। उहाँकै मान्छे उपभोक्ता समिति बनाउँछन्, उहाँकै ग्राभेल आउँछ। यसरी प्रदेश सरकारको जिम्मेवार व्यक्ति स्वयम् लाभ उठाउने कार्यमा संलग्न हुनुले सुशासन र उनको नैतिकतामथी पनि प्रश्न उठ्छ।’
जनताको सेवा गर्ने बाचा गरेर गएका जनप्रतिनिधी आफै राज्य दोहनमा लागेको प्रति जसपाका नेता राम दयाल यादवले चिन्ता व्यक्त गरे। उनले भने, ‘मन्त्री साह ठेकेदार हो की मन्त्री? खुट्याउनै नसकिने भएको छ। उपभोक्ता समितिको आवरणमा योजना कब्जा गर्दै छ। यो अनैतिक र अख्यिारको दुरुपयो पनि हो।’
मन्त्रीका क्रियाकलापले उनको नैतिकतामाथी गम्भीर प्रश्न उठाएको छ। भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्य बाहिरीने भएपछि उनी अहिले कसैको सम्पर्कमा आउन चाहिरहेका छैनन। यस सम्वन्धमा मन्त्री साहको प्रतिकृयालिन खोज्दा उनको फोन स्वकिय सचिवले उठाए। उनले मन्त्री जी अहिले वैठकमा हुनुहुन्छ। बैठक पछि कुरा गराउने भनेपनि पछि पटक पटक फोन सम्पर्क गर्दा पनि फोन उठेन। श्राेत न्यूजकरखाना