रौतहट ।। मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न एकजना भारतीयलाई प्रहरीले आज रौतहटमा ७ किलो चाँदीका गहनासहित पक्राउ गरेको छ ।
भारत बिहार प्रदेशको सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार ७ किलो १८७ ग्राम चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।
बरामद चाँदीका गहनाको तौल ७ किलो १८७ ग्राम रहेको र यसको अनुमानित मूल्य नेपाली रुपैयाँ ७ लाख ७७ हजार ९२० रुपैयाँ ८८ पैसा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। साहले प्रयोग गरेको मोटरसाइकलको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ ।
मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो ।
मोटरसाइकलसहित कुल ८ लाख २७ हजार ९२० रुपैयाँ बराबरको बरामद गरगहना र चन्देश्वर साहलाई कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, अरौया, बञ्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौलाखालका हातहतियार, पटकालगायत अवैध सामग्री नेपालतर्फ भित्रिने गरेको छ ।
रौतहटमा ७ किलो चाँदीका गहनासहित एकजना भारतीय पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।