–सुरेश मण्डल
प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरूले प्रवेश पाएका छन्, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो सँगसँगै भाषा पनि प्याकेजमै आउनुपथ्र्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको विषयमा बहस, छलफल र चर्चा सर्वत्र जारी छ ।
नामको सवालमा व्यक्ति तथा दलहरूले स्कुलिङ तथा पृष्ठभूमिको आधारमा तर्क गरिरहेका छन् भने राजधानीको सन्दर्भमा भूगोल (पायक पर्ने र केही हदसम्म बीचमा पर्ने) मनोविज्ञानले काम गरिरहेको छ । तर मोटामोटी जनकपुरधामप्रतिको स्वीकार्यता महसुस गर्न पाइन्छ । जहाँसम्म प्रदेशको नामाकरणको सवाल छ, निकै जटिल र पेचिलो विषय बन्दै गइरहेको छ । दुई तिहाई बहुमतले पारित गर्नुपर्ने कानूनी प्रावधानले विगत डेढ वर्षदेखिको गाँठोलाई झन् दरिलो बनाइदिएको छ । यसमा दुईटा दृष्टिकोण स्पष्ट देखिन्छ ः
१. सत्तापक्ष (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल) मधेश आन्दोलनको पृष्ठभूमि र खासगरी २०६३, २०६४ र २०७२ आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेश प्रदेश” को पक्षमा देखिन्छ । साथै राज्यपक्षसँग भएको ऐतिहासिक ८ बुँदे सम्झौतामा उल्लेख भएअनुसार “मधेश प्रदेश लगायत अन्य प्रदेशहरू हुनेछ’ भावनाको कदर गर्दै साथै स्वस्फूर्त रूपले जनआक्रोशले प्रायस सबै साइनबोर्डमा नेपाल सरकारको ठाउँमा मधेश सरकार लेखेर जनमत प्रकट गरिसकेको अवस्था छ ।
मधेश शब्दावली राजनीतिक रूपमा स्थापित भइसकेको छ । यो राज्यको एउटा पक्षको रूपमा मजबुतीका साथ प्रस्तुत भएको छ । मधेश भन्ने बित्तिकै पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण जातजाति भाषाभाषी वर्ग समुदायलाई समेट्छ । यो भूभागका सम्पूर्ण जनसमुदायको पहिचान, स्वाभिमान र सम्मानको प्रतिनिधित्व गर्छ । जय मधेश भन्ने बित्तिकै मधेश बिरोधी शक्तिको मुटु काँप्छ ।
जहाँसम्म हाम्रै कतिपय मधेशवादी मित्रहरू मध्यमधेशको वकालत गर्दै आएका छन् । उहाँहरूसँग मेरो अनुरोध छ, मधेसलाई हामी आफैले मध्य, पूर्व, पश्चिम, सुपको नाममा विभाजन नगरौं । एक मधेशको अवधारणामा नै अगाडि बढौं । तसर्थ यो प्रदेश नं.२ को नाम मधेश प्रदेश राखेर मधेशको अन्य जिल्ला तथा भूभागहरूको भावनालाई समेटेर दीर्घकालीन रणनीतिका साथ समग्र मधेश प्रदेश प्राप्तिको लक्ष्यमा अगाडि बढौं ।
२. प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको धेरै हदसम्म प्रदेश नामाकरण सम्बन्धी अबधारणा लगभग एउटै हो । एउटाले मिथिला–भोजपुरा र अर्कोले मिथिला भनेको यदाकदा सुन्नमा आएको छ । यद्यपि संघीयता, प्रदेशबारे यी दुईटै दल कन्फ्युजनमा देखिन्छ । यी दलहरूबीच एउटा सामिप्यता छ,त्यो हो मधेश आन्दोलनको ताकतमा स्थापित संघीयता र मधेश आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेश प्रदेश” को बिरोध गर्नु ।
यो बाहेक यी दुई दलबीच अरू केही मिल्दैन । उहाँहरूले कर्मकाण्डी नै भए पनि प्रतिपक्षी धर्म निर्वाह गरिरहेका छन् । नेकपा र नेकाले सात प्रदेशमध्ये कहिकतै पनि भाषाको आधारमा प्रदेशहरूको नामाकरणबारे बोलेको छैन । तसर्थ यी दुईटै दलको मुख्य अभिप्राय मधेशी जनताको चाहनामा आघात पुर्याउनु हो यस बाहेक केहि होइन ।
अन्त्यमा, आजको दिनमा मधेश यो देशमा एउटा राजनीतिक शक्तिको रूपमा स्थापित भएको छ । यो पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण तराई मधेशको जिल्ला, समुदाय, भूगोल, संस्कृति, भाषा, पहिचान समग्रलाई जोड्ने एउटा मात्र शस्त्र र शास्त्र हो । यो प्रदेश नं २ लाई भौगोलिक र राजनीतिक वैमनस्यताको कारण आठ जिल्लामा मात्र सीमित गरिएको भएता पनि यसले पूर्वको झापा, मोरङ र सुनसरीको पनि भावना समेटेर अगाडि बढ्दैछ ।
पश्चिमको मकवानपुर, चितवन, दाङ, नवलपरासी, रूपन्देही, र कपिलवस्तुका साथै बाँके–बर्दियाको पहिचान स्वाभिमान र सम्मानको निम्ति लडिरहेको छ । त्यति मात्र नभई सुपका थारू दाजुभाई तथा दिदीबहिनीहरूको अस्तित्व रक्षाका लागि पनि संघर्षरत छन् । तसर्थ, मधेश प्रदेश एकमात्र विकल्प हामी सामु खडा छ । यो नामलाई स्वागत गरौं । जहाँ जे पार्टी रहनुस् । तपाईको अस्मिता र अस्तित्वको रक्षा मधेशले नै गर्नेछ ।
जय मधेश । (मण्डल, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री हुन् ।) (मधेश दर्पण फिचर सेवा)
प्रदेश २ को नाम यसकारण ‘मधेश’ हुनुपर्छ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।