सर्लाही ।। सर्लाहीको मलंगवा ११ बर्ष देखि कारागारविहिन रहेका जिल्ला कारागार आजदेखि सञ्चालनमा आएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिलालेखको अनावरण तथा रिबन काटेर उद्घाटन गरेपछि जिल्ला कारागार सञ्चालनमा आएको हो । कारागारको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कारागारको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको बताए । उनले भने,‘कारागारलाई अब तपाईँहरू सुधार गृहको रूपमा विकास गर्नुपर्छ, यहाँ योगा सञ्चालन गर्नुपर्छ । ताकी कैदीबन्दीहरुमा सकारात्मक परिवर्तन आओस् ।’ जीर्ण जिल्ला कारागारको मर्मत सम्भारको कार्य सकिएपछि आजदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका सीडीओ कोमल प्रसाद धमलाका अनुसार ०६९ सालको माघ महिनादेखि जीर्ण हुँदा कारागार बन्द गरिएको थियो । उनले भने,‘ठेकेदारको लापरबाहीका कारण धेरै समय लाग्यो, किनभने कारागार मर्मतका लागि तीन–तीन पटक ठेक्का गर्नुपर्यो । अनि बल्ल अहिले आएर काम पुरा सकियो,त्यस कारण ढिलाइ हुन गयो ।’ ठेकेदारकै लापरबाहीले ११ वर्षमा यो जिल्लाका कैदीबन्दीहरुलाई सास्ती खेप्नुपरेको थियो,’उनले भने । मलंगवामा रहेको जिल्ला कारागार सञ्चालन आए लगत्तै रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएको सीडीओ धमलाले बताए । सर्लाही कारागार ८ कट्ठा साढे १९ धुर क्षेत्रफलमा फैलिएको छ ।
सर्लाही कारागार आजदेखि सञ्चालनमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।