जनकपुरधाम ।। मधेस प्रदेशमा नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाँपालिका वडा नं. ६ जटही स्थित सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरेको हो ।
१८५÷४ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी भएको छ ।
धनुषामा १५५ सीमास्तम्भ रहेको धनुषाका सशस्त्र प्रहरीका प्रमुख एसपी दिनेश मल्लले जानकारी दिए । मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले जानकारी दिए । विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले गर्ने उनले बताए ।
हराइरहेका सिमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए । सो अवसरमा अवसरमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष निमोरिया लगायतको उपस्थिति रहेको थियो ।
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।