वीरगञ्ज ।। चोरी गर्नको लागि छिरेकोमा पक्राउ पर्ने डरले एक महिलाको घाँटी रेटी हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । गत असोज २ गते पर्साको जगरनाथपुर गाउँपालिका –५ की ५६ वर्षीया कान्तिदेवि बिनको आफ्नै घरमा हत्या भएको थियो । घटनामा संलग्न सोही वडाका ३६ वर्षीय भुटा भनिने लालबाबु राउत बिन, ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमिरिका राउत बिनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका मध्ये चन्द्रिका र अमिरिका कान्तिदेवीका जेठाजु हुन्। तीनै जना कान्तिदेवीको घरमा पैसा चोरी गर्नको लागि छिरेकोमा पक्राउ पर्ने डरले खुर्पीले घाँटी रेटेर उनको हत्या गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । विदेशमा बस्ने कान्तिदेवीका छोराले घरमा २ लाख ५० हजार रकम पठाएका थिए। सोही रकम चोरी गर्न तीनै जना अभियुक्तहरु असोज १ गते राति पौने १२ बजे उनको घर गएका थिए । घरभित्र पसेर उनीहरुले बक्सा खोतल्दै गर्दा कान्तिदेवीले देखेपछि तीनै जनाले रड र काठको फलेक प्रहार गरी पछि खुर्पीले घाँटी रेटी हत्या गरेको प्रहरी उपरीक्षक शाहले बताए । तीनै जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसनधान भइरहेको उनले बताए ।
रुपैयाँ चोर्न महिलाको हत्या, जेठाजुसहित ३ जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।