जनकपुरधाम ।। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जनकपुरधाम पुगेका छन् । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् । दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल पहिलोपटक जनकपुरधाम पुगेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ । दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ । सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ । २०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुने भएपछि जनकपुरधामवासी हर्षित भएका छन् । राष्ट्रपति जनपुरधाम आएपछि सुरक्षाव्यवस्था कडा पारिएको छ ।
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।