काठमाडौं ।। सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको शिक्षक नेताहरुले जनाएका छन् ।
वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई र शिक्षा सचिव सुरेश अधिकारी लगायत सहभागी थिए । यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए । छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएको उल्लेख गर्दै समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका थिए । शिक्षकहरूको जायज माग सम्बोधनका लागि पहल गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले व्यक्त गरे ।
छलफलमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत बोलाइएको थियो । शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाले शान्ति–सुरक्षा व्यवस्थापनको विषयमा छलफल गर्न प्रजिअ बस्नेतलाई बोलाइएको थियो ।
शिक्षकहरुको आन्दोलनका कारण हुनसक्ने सम्भावित सुरक्षा चुनौती, जनजीवन र सवारी व्यवस्थापनमा पर्ने प्रभावबारे प्रजिअ बस्नेतले जानकारी गराएका थिए । बैठकमा सहमति नजुटे पनि गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण र जनजीवन तथा सवारी आवागमन सहज हुने गरी आन्दोलन गर्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।
बिहीबारको छलफल सकारात्मक भएको भन्दै छिट्टै पुन: छलफल गर्ने गरी दुवै पक्ष उठेका थिए । बिहीबार बिहान ८ बजेदेखि ९ बजेसम्म गृह मन्त्रालयमा वार्ता भएको थियो ।
सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षविहीन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।