वीरगन्ज ।। वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट ल्याएको छ ।
बुधबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १३ औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।
महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा करिब १२ करोडभन्दा कम रकमको बजेट ल्याएको हो। यसअघि चालु आर्थिक वर्ष २०७९/८० मा भने महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात् १ प्रतिशत बजेट छुट्याइएको उपमेयर आलमले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । महानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको बजेटको खर्च व्यवहोर्ने श्रोतमध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजश्व बाँडफाडबाट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदानबाट ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान महानगरले गरेको छ।
यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here