काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् ।
काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो)मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ । कतिपय विद्यालयले नियम पालना नगरेकाले बालेनले आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका हुन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९ मा विद्यालयको चिह्न षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।
यसैगरी नियम ७० को उपनियम १ मा विद्यालयको नाम राख्दा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने उल्लेख छ । तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।
नियम ७० को उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था छ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने व्यवस्था छ । विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ ।
तर यो उपनियम लागू हुनु अगावै यस नियम विपरीतका शब्दहरू जोडेर नामकरण भैसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक-सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने व्यवस्थाको मेयर बालेनले स्मरण गराएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here