काठमाडाैं ।। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन् । भरतपुर–१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिबार गरेको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको दाबी गरे ।
“यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु” कार्यकर्ता माझ भट्टराईले भने । जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उनको भनाइ छ । “के–के भन्थे, के–के गरे, सबैले थाहा पाइसक्नुभयो अब भ्रमको पर्दा उध्रिसकेको छ” भट्टराईले भने ।
मतदाताको चाहना बमोजिम युवा र परिपक्व उम्मेदवारका रुपमा पार्टीले रामप्रसाद न्यौपानेलाई अघि सारेको उनले उल्लेख गरे । जनचाहना अनुरुप समृद्धिको अभियान अघि बढाउन मुलुकको नेतृत्व एमाले पार्टीबाट मात्रै सम्भव रहेको उनले बताए । भरतपुर–१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अगुवाइमा पोखरेली टोल, आनन्द टोल, प्रेरणा टोल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here