काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्न समस्या परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए ।
उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायत अति महत्वपूर्ण वनस्पतिहरू पाइने उल्लेख गरे । आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरू जोगाइराख्नुपर्ने आवश्यकता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ थियो ।
सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरू गरिरहेको उनले बताए । भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरू पाइने मुख्य थलोको रूपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरूको संरक्षण संवर्द्धन गर्न जरुरी रहेको उनको भनाइ थियो। नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान अझै हुनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलार्य न्यूनीकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताए ।
आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल – प्रधानमन्त्री प्रचण्ड
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।