काठमाडौं ।। नेकपा (एमाले)का तर्फबाट राष्ट्रपति पदको उमेदवार बनेका सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी)को कार्यालयमै पुगेर भोट मागेका छन् ।
आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपा एसको केन्द्रीय कार्यालय पुगेका थिए । बिहीबार एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र नेत्री विमला राई पौड्याललाई साथमा लिएर नेम्वाङ काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगेका हुन् ।
नेम्वाङलाई एकीकृत समाजवादीका नेताले आफूहरू नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका रामचन्द्र पौडेलको प्रस्तावक रहेकाले तत्काल सहयोग गर्न सक्ने अवस्था नरहेको जवाफ दिए ।
“नेकपा (एमाले)का तर्फबाट पार्टी कार्यालयमै आएर भोट माग्नुभयो । यो हार्दिकताका लागि हामीले धन्यवाद दिएका छौँ,” एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने, “तर, हामी रामचन्द्र पौडेलजीको प्रस्तावक बसेकाले तत्काल सहयोग गरिहाल्ने अवस्था छैन । हाम्रो पार्टीको सचिवालयले गरेको निर्णय पनि छ । त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ ।” खतिवडाले एमालेका तर्फबाट सकारात्मक प्रयास भएको भन्दै यसले भोलिका दिनमा सहकार्यको ढोक खोल्ने बताए । भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला तथा सचिवालय सदस्य रामचन्द्र झा सहभागी थिए । नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here