काठमाडाैं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् । शुक्रवार द राइजिङ नेपालको ५७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताएका हुन् ।
मन्त्री कार्कीले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने काममा नलाग्न आग्रह गरे । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उनको आग्रह छ । उनले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गरे ।
मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताएका छन् । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उनले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे ।
मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनुपर्ने बताए । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ । उनले जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिवद्धताका साथ अगाडि बढ्नु आवश्यक रहेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here