काठमाडाैं ।। प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउने भएको छ । २०७६ साल माघ ६ गतेदेखि रिक्त उपसभामुख पदको लागि आज मतदान हुन लागेको हो । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको दोस्रो बैठकमा माओवादी केन्द्रका सांसद् देवप्रसाद गुरूङले काँग्रेस सांसद् पुष्पा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ । उहाँको यो प्रस्तावमा सांसद् लक्ष्मी चौधरीले समर्थन गर्नुहुनेछ । एमाले सांसद् विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गर्नको लागि सांसद् शान्ता चौधरीले प्रस्ताव र कृष्णभक्त पोखरेलले समर्थन गर्नुहुनेछ । यी दुवै प्रस्ताव निर्णयार्र्थ प्रस्तुत गरेपछि मतदान हुनेछ । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । नेकपा एमालेसँग ९८ सांसद छन् भने सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरे पनि लोसपाले भने अहिलेसम्म निर्णय गरेको छैन । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि साढे दुई वर्षदेखि प्रतिनिधि सभा उपसभामुखविहीन छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here