जनकपुर ।। देशभर रासायनिक मलको अभाव देखिएको छ । मल अभावको कारण उत्पादन घट्ने चिन्ता देशभरका किसानमा रहेको छ । धान उत्पादनको मुख्य क्षेत्र तराईमा मल अभावका कारण धान रोपाईंको काम सुरू हुन सकेको छैन । मध्य असार भइसक्दा समेत तराईका जिल्लाको मुख्य खेती धान रोपाईंको काम हुन नसकेको हो । पर्सामा पनि यसपटक मल अभावका कारण धान उत्पादन घट्न सक्नेभन्दै किसानहरू चिन्तामा छन् । धानका बिरुवा रोप्ने खालका भइसकेका छन् । तर किसानहरूको अनुहारमा उत्साह छैन । मल अभावमा सरकारले चासो नदेखाएको उनीहरूको गूनासो छ ।
यस्तै नवलपरासीमा समेत मल अभाव भएपछि किसानहरू चिन्तित बनेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियाका जोग कुमारी चौधरीले हरेक वर्ष मलकै कारण वर्षभरी खाने धानको उत्पादन कम हुने होकि भन्ने चिन्ता लागेको बताउनुभयो ।





