काठमाडाैं ।। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताएका छन् ।
सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा औपचारिक रूपमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए ।
पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनले बताए । उनले भने, ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयहरूको बारेमा कुनै छलफलहरू भएको छैन । यद्यपि पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरूले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरूले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरूको कुरा छ । खासगरी नयाँ सांसदहरूको । किनकि नेपाली कांग्रेसमा एकल सरकार बनेपनि एउटै अनुहारहरूले मन्त्री हुने । गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोलि गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो । केही नयाँ साथीहरू आउलान् । नयाँ कामहरू गर्लान् । उनीहरूले पनि आफ्नो पम्फर्म गर्ने मौकाको पनि त खोजी पनि हो भन्ने हिसाबले यहाँभित्र धेरै ठूलो साथीहरूको कुरा छ, हामीलाई भनिराख्नुभएको छ । अहिलेसम्म औपचारिक रूपमा छलफल भएको छैन । सभापति आफैं संसदीय दलका नेता हुनुभएकाले गर्दा उहाँले यसलाई कसरी सोच्नुभएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो तर केही फेरबदल हुनुपर्छ । खासगरिकन नयाँ, अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ । त्यसलाई त्यहाँ पुर्‍याउने काम हुन्छ । थोरै समय भएकाले गर्दा गर्ने कि नगर्ने भन्ने कुरा धेरै हदसम्म चाहिँ दलको नेता भएकाले गर्दा उहाँले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here