काठमाडाैं ।। भोट हाल्ने दिन आउन अब आठ दिन मात्रै बाँकी छ । महानगरसहित गाउँबस्ती चुनावमय बनेका छन् । आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्रसहित उम्मेदवारले मतदातालाई आश्वस्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । मतदातासँगको भेटघाट, छलफल, सामाजिक सञ्जालको प्रयोगसँगै र्याली, जुलुस तथा सभा भइरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न हुने अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले चुनावी सुरक्षा चुनौती समेत बढाएको छ । झडपका घटना बढ्न थालेका छन् । गृहमन्त्रालयका प्रवक्ता एवम सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार चुनावलाई धाँधलीरहित, स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन गृहसहित सम्पूर्ण निकाय लागेको छ । चुनावमा शान्ति सुरक्षा बिथोल्ने जस्ता गतिविधि हुन नदिन दल, उम्मेदवार, कार्यकर्ता र नागरिकलाई संयमित रहन पनि उहाँको आग्रह छ । यस्तै, उहाँले झडपको अवस्था आउन नदिन र कतै घटना हुनसक्ने देखिएमा वा भइहाले प्रमुख जिल्ला अधिकारी वा प्रहरीमा खबर गर्न पनि आग्रह गर्नुभएको छ । यसपालि ७ सय ५३ पालिकामा एकैपटक चुनाव हुँदैछ । यो चुनावका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाएको छ । एक लाख ७० हजार सुरक्षाकर्मी तथा एक लाख म्यादी प्रहरी चुनावकै लागि खटाइएको छ ।
भोट हाल्ने दिन आउन आठ दिन मात्र बाँकी, सुरक्षा व्यवस्था कडा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।