राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबैले प्रण गर्नुपर्ने बताउनुभएको छ । १ सय १२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै उहाँले परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भनेर शुभकामना दिनुभएको छ । उहाँले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएको उल्लेख समेत गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गर्नुभएको छ । उहाँले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ । लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको पनि उहाँले बताउनुभयो । सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, विभिन्न राजनीतिक दलका नेतृत्वमा रहेका नेताहरूले पनि श्रमिक महिला दिवसको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here