काठमाडाैं ।। परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ । आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षी, विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरुका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका सदस्यहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल फागुन ३० गते स्वदेश फर्कनेछ ।
परराष्ट्रमन्त्री खड्का टर्की प्रस्थान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।