सांकेतिक तस्विर

काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे आफूहरू पर्ख र हेरको नीतिमा रहेको बताएका छन् । एमसीसीबारे निर्णय गर्नुपर्दा आफूहरू राष्ट्रहितको पक्षमा उभिने उनले बताए ।
सोमवार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरु अहिले पनि एमसीसीबारे सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको बताएका हुन् ।
‘एमसीसी सम्बन्धमा गठबन्धनमा सामेल भएका दलहरू मौन छन्, २०७४ सालमा देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको हो, त्यसबखत माओवादी सरकारमा सामेल थियो,’ ओलीले भने, ‘उहाँहरूले गरेको सम्झौता भए पनि सरकार अविच्छिन्न उत्तराधिकारी भएकोले हामीले संसदमा दर्ता गरेका थियौँ, किन उहाँहरूले एउटै धारणा ल्याउनु हुन्न । हामी पर्ख र हेरको नीतिमा छौं ।’
ओलीले एमसीसीबारे निर्णय लिनुपर्दा देश, जनता र राष्ट्र हितको पक्षमा उभिने बताएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘एमसीसीबारे निर्णय गर्नुपर्दा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न र आत्मनिर्णय गर्ने अधिकारको पक्षमा उभिन्छौँ भन्ने अध्यक्षको भनाइ छ,’ भट्टराईले भने ।
संसदीय दलको बैठकमा भीम रावल, घनश्याम भुसाल लगायतले एमसीसीबारे पार्टीको धारणा माग गरेका थिए । प्रत्युत्तरमा ओलीले सत्तारुढ गठबन्धनको धारणा कुरेर बसेको र निर्णय लिनुपर्दा जनताको पक्षमा उभिने बताएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here