काठमाडाैं ।। राष्ट्रियसभाको रिक्त १९ पदका लागि भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । हिजो भएको चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश १ मा सोनाम गेल्जेन शेर्पा विजयी हुनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुनुभएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह निर्वाचित हुनुभएको छ । यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो । आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार चुनाव भएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here