जनकपुर ।। गत माघ १४ गतेबाट सातै प्रदेशमा एकैपटक सुरु भएको खोप अभियानमा प्रदेश २ का नागरिक भने अपेक्षा गरेभन्दा कमै सहभागी भएका छन् । सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको एक वर्ष हुनै लागेको छ । प्रदेश नम्बर २ को कुल जनसङ्ख्या ५४ लाख ५ हजारको हाराहारीमा छ । हालसम्म कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ४५ प्रतिशत अर्थात् २४ लाख नागरिकले लगाएका छन् । सुरुमा प्राथमिकताका आधारमा खोप लगाइए पनि पछिल्लो समय १२ देखि १७ वर्ष उमेर समूहकालाई पनि खोप लगाइँदैछ । प्रदेश २ मा १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ६० प्रतिशतलाई खोप लगाइएको छ । तुलनात्मक रुपमा अरु प्रदेशको भन्दा खोपप्रतिको आकर्षण कम देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले बताउनुभयो । बागमति र गण्डकी प्रदेशमा सबैभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश २ मा पहिलो र दोस्रो मात्रा खोप लगाउनेकै सङ्ख्या बढाउन खोपबारे सुनिएको भ्रम चिर्न सचेतनामुलक कार्यक्रम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । देशभर कुल लक्षित वर्गको २ करोड ८० लाखभन्दा बढीलाई खोप लगाइएको छ । माघको तेस्रो वा चौथो हप्ताबाट आम सर्वसाधारणलाई पनि बुस्टर मात्रा लगाउने तयारी सरकारले गरिरहँदा प्रदेश २ का नागरिक भने पहिलो मात्राका लागि उत्साहित देखिएका छैनन् ।
प्रदेश २ मा २४ लाख नागरिकले पूर्ण मात्रा खोप लगाए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		