बागलुङ ।। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा रहेको विमानस्थल सञ्चालनमा नल्याएको भन्दै नागरिक दुःखी भएका छन् । आरक्ष क्षेत्रमा रहेको विमानस्थल काँडेतारको घेरावारमा छ । निर्वाचनको समयमा नेताहरूले नियमित जहाज चलाउने आश्वासन दिए पनि काम नभएकोमा नागरिक खुसी छैनन् । २०१६ सालतिर डोल्पा हुँदै बागलुङको ढोरपाटनमा तिब्वती शरणार्थीहरू प्रवेश गरेका थिए । स्वीस सरकार र नेपाल सरकारले उनीहरूको बसोवासका लागि कार्यक्रम सञ्चालन हुँदा, ढोरपाटनको समथर मैदानमा जहाज आउने जाने गरेको सुनेका जिल्लामा धेरै भेटिन्छन् । ढोरपाटनमा त्यसको निरन्तरताका लागि थुप्रै पटक स्थानीयस्तरबाट पहलहरू भएका थिए । चुनावमा साँसदको उम्मेदवार बन्न आउनेहरूले ढोरपाटन क्षेत्रको विकास सगैँ जहाज चलाउने आश्वासन पनि दिएपनि जहाज नियमित नभएको पनबहादुर विश्वकर्माले गुनासो गर्नुभयो । जनप्रतिनिधि, प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमणका बेला ढोरपाटनमा जहाज सञ्चालनको माग उठाएपनि गरिएका प्रतिवद्धता कार्यान्वयन नहुने अर्का स्थानीयबासी चकबहादुर अदैले बताउनुभयो । जहाज चलाउँन भन्दै करिव ५ सय ६१ रोपनी क्षेत्रफल रहेको जग्गा काँडेतारले घेरिएको छ । जुन पार्टीको सरकार बन्छ उनीहरूका कार्यकर्ताले घेरावार गर्ने काम त पाइरहेका छन् । तर विमानस्थल सञ्चालनका लागि कुनैपनि निकायले चासो नदिएको ढोरपाटन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा नगरका प्रवक्ता दीपक थापाले बताउनुभयो । विमानस्थल चलाउनका लागि पहल भइरहेको त्यसक्षेत्रबाट निर्वाचित मन्त्री देवेन्द्र पौडेलले बताउनुभयो । हिउँद वा बर्खा जुनसुकैबेला तारबार गरिएको चौरमा गाईभैंसी, घोडा चराउने गरिएको छ । यहाँ आउने जोकोही भने जहाज चढेर ओहोरदोहोर गर्न पाउने सपना बुन्दै फर्कने गरेका छन् ।





