काठमाडौँ ।। पछिल्लो सात वर्षमा पशु बीमा कार्यक्रमको प्रभावकारीता बढेको छ । सात वर्षको अन्तरालमा १७ गुणाले पशु बीमा गराउनेहरु बढेका छन् । कृषि र पशुपालन गरेर ४ सय ५६ जना व्यवसायिक किसान रहेको गुल्मीको छत्रकोट गाउँपालिकामा गतवर्ष ३ सय किसानले पशु बीमा गरे । किसानले एक लाख रुपैयाँको पशुबीमा गरेको खण्डमा पशुको मृत्यु भएमा ९० हजार रुपैयाँ नगद पाउँदछन् । एक लाखको बीमा गर्दा पाँच हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । त्यसमा ३५ सय सरकारले तिरिदिन्छ भने किसानले १५ सय तिरे पुग्छ । क्षती भएमा लगानी उठाउन सकिने भएको हुँदा बीमा कार्यक्रममा सहभागी भएको गुल्मिको छत्रकोट गाउँपालिका स्थानीय किसान केशव न्यौपानेले बताउनुभयो । सिराहाका मिश्रीलाल यादबले ५ वर्ष देखि पशु बीमा गर्दैै आउनु भएको छ । उहाँको गोठमा १९ वटा गाई छन् । दुई वर्ष अघि २ वटा गाई मरे । बीमा गरेकोले क्षतिपुर्ति वापत रकम पाउँदा उहाँलाई खासै नोक्सानी नभएको उहाँ बताउनुहुन्छ । रामकोट काठमाडौँका कान्ती थापाले भने गएको वर्ष मात्रै पशु बिमाको बारे थाहा पाउनुभयो । उहाँले आफुसँग भएका ४ गाईको बीमा गराउनुभयो । तर बीमा गरेको पशु विरामी भए उपचार खर्च पनि दिने व्यवस्था मिलाउन सरकारसँग उहाँ आग्रह गर्नुहुन्छ । पशु सेवा विभागको तथ्याङ्क अनुसार सात वर्ष अघि करिब २ अर्बको हाराहारीमा पशु बिमा गरिएको थियो । गतवर्ष भने ३४ अर्ब ७० करोड रुपैयाँ बराबरको पशु बीमा भएको छ । यसले पशु बीमा प्रति किसानको आकर्षण बढेको देखिन्छ । तर गतवर्ष ७५ प्रतिशत बीमा रकम अनुदान दिएको सरकारले यसवर्ष देखि ५० प्रतिशत मात्रै दिने घोषणा गरेकोमा किसानको गुनासो छ । किसानका गुनासोबारे पशु विभागले मन्त्रालयसँग छलफल गरिरहेको पशु सेवा विभागका सुचना अधिकारी डा. चन्द्र ढकालले बताउनुभयो । कृषि क्षेत्रलाई अघि बढाउने उद्देश्यले सरकारले २०६९ माघ १ गतेदेखि लागु गरेको भएपनि बीमा समितिले आर्थिक वर्ष २०७०÷७१ देखि कृषि तथा पशु बीमा कार्यक्रमलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार, गतवर्ष १ लाख ३ हजार किसान कृषि तथा पशु बीमा कार्यक्रममा आबद्ध भएका छन् ।
पछिल्लो सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।