विराटनगर ।। लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भन्नुभएको थियो । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । काँग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने अनौपचारिक सहमति भइसकेको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि हिजो प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर, प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गर्नुभएको हो । लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले हिजोका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here