सांकेतिक तस्विर

काठमाडौँ ।। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी(जसपा)को मागप्रति आफू सकारात्मक भएको बताएका छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासँग भेटवार्ता गरेका थिए ।
मंगलबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले संसद्‍मा आफूलाई समर्थन गर्न अनुरोध गरेको नेता लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘आज प्रधानमन्त्रीले संसद्मा मलाई समर्थन गरिदिनुस् । तपाईंहरुका मागप्रति म सकारात्मक छु भन्नुभयो ।’
जसपा नेताहरुले भने मागप्रति सकारात्मक भए प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने कुरा उठाएका थिए । नेता कर्णले भने, ‘हामीहरुले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए प्रक्रिया अगाडि बढाउनुहोस् भन्यौँ ।
भेटमा प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।
पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ । गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए ।
प्रतिवेदनमा कांग्रेस, माओवादी र जसपामध्ये समझदारीमा सरकारको नेतृत्व गर्ने विषय थियो । बैठकमा प्रस्तुत गर्नुअघि उक्त प्रतिवेदन पाँच सदस्यीय पदाधिकारी बैठकमै विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक रोकिएको थियो । ठाकुर र महतोले यादवको प्रतिवेदन अपरिपक्व भएको बताएका थिए ।
मंगलबार बालुवाटार गएका चार जना नेता नै पूर्वराजपाका हुन् । सत्ता समीकरणबारे जसपामा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका रुपमा कित्ताकाट देखिएको छ ।
त्यस्तै नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय गर्नुपर्ने र निर्णायक देखिएको जसपाले प्रस्ट धारणा बनाउनुपर्ने कांग्रेसले अडान राखेको छ भने पहिला कांग्रेस र माओवादी प्रस्ट हुनुपर्ने जसपाको धारणा छ ।याे समाचार कान्तिपुरमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here