काठमाडाैं ।। आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाइन्छ । आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकार खास पहल गर्न सकेको छैन ।
राष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको बताउनुभएको छ । उहाँले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको पनि बताउनुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको पनि बताउनुभयो ।












