काठमाडाैं ।। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण सिख धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । गुरुनानकले शान्ति, सहिष्णुता, एकता र लोककल्याणका लागि सबै धर्मका बीच सद्भाव कायम राख्नुपर्नेमा मार्गदर्शन गरेको जनाउँदै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सुदृढ एकता कायम गर्दै समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लंगर परम्परा’को थालनी गर्नुभएको थियो । सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म विसं १५२६ कार्तिकशुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजार्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here