— देवेश झा ।।
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता गाउँपालिका मा पर्छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराज बाट ११ किमी को दुरीमा भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन् ।
प्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव पाटलीपुत्र हुँदै तत्कालीन तिरहुतको सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे । नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भए। उनी आफ्नो नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । जसको फलस्वरूप सिम्रौनगढ ध्वस्त भयो। सिम्रौनगढका मूर्तिहरू अहिले पनि फुटेकै अवस्थामा छन् । यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको केही इतिहासविद् हरुको अनुमान छ । देवीको शिर नभएकोले केही समयपछि सो मूर्तिलाई छिन्नमस्ता भगवती भन्न थालिएको हो। शक्रेश्वरी को अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो । तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो ।
करिब सवासय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो। त्यहाँ स्थानीय बासिन्दा ले सङ्कलित गरेको रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको महाभूकम्पमा भत्किएकोले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाइयो । सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री स्व ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए । वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख चढाएर भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन अद्यावधि छ
मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ। ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ। छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ। मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूल हैस गर्न आउने गरेका हुन्छ।
देवीलाई नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गरिएको छ। पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ । यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको भनाई रहेको छ ।
कंकालिनी मन्दिर
कंकालिनी मन्दिर कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि १८ किलोमिटर पूर्व हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत भारदहमा पर्छ । कंकालिनी मन्दिर मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक मानिएको हुदा नेपाल र भारतका श्रद्धालुको ठूलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो मेला लाग्ने गरेको छ । किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पुजा सुरू गरेका थिए ।
कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूले विशेषतः दशैंमा भाकल गरि बोका र राँगा आदि बलि दिन आवश्यक पूजा सामग्रीसहित घुइँचो लाग्ने गरेको छ । यहाँ बडादसैँमा हजारौँ बोका र सयकडौं राँगाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ ।
बड़ा दशैंमा यस देवीलाई दैनिक सरदर ५००० भन्दा बढीले दर्शन गर्ने गर्दछन्। दशैं भरि दैनिक एक हजार भन्दा बढी खसी(बोका बलि दिने यो मन्दिरमा राँगा बलि नवमी तिथि का दिन मात्र दिने चलन छ । सप्तरीको भारदहमा पूर्ब(पश्चिम राजमार्ग छेउ अवस्थित कोशी तटबन्ध संगैको ठूलो भूभाग मा सुन्दर बगैंचा सहित रहेको कंकालनी भगवती मन्दिर क्षेत्र भित्र भगवान गणेश को एउटा सानो मन्दिर पनि छ। यो मन्दिरलाई नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर रहेको छ । यस मन्दिरको पाँच स्तरको छाना रहेको छ ।
राजदेवी मन्दिर
राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुँदा नेपाल र भारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्राचीन इतिहास र किम्वदन्तीका अनुसार राजदेवी मन्दिरको उत्पति पनि सेन वंशको समयमा भएको देखिन्छ ।
सप्तरी जिल्ला स्थित शक्ति पीठहरु नेपाली समाजको पुरातात्विक, सास्कृतिक, ऐतिहासिक र धार्मिक धरोहर हो । विगतमा राज्यको प्रत्यक्ष संरक्षणमा रहदै आएको यी पारम्परिक विरासतले राष्ट्रको पहिचान बनाउने गरेको इतिहास छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here