महोत्तरी ।। महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर गम्भीर घाइते बनेका संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ ।
उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा मंलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।।। बर्दिवास स्थित ६ वर्षीया बालिकाको गुलाब साह खातुनको बलात्कार तथा हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नयौपाने घाइते बनेका थिए ।
गम्भीर घाइते बनेका न्यौपानेलाई मंलबार अपराहन्न थप उपचारकोलागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । गोलि लागेर अन्य दुई जना घाइते भएका थिए । श्याम कार्कीको पनि काठमाडौंमा उपचार भइरहेको छ भने गोलिको छर्रा लागेका अफताब आलमको बर्दिबासमै उपचार भइरहेको छ ।

गोलि लागेका संजय न्यौपानेको मृत्यु भएपछि बर्दिबासमा पुनः आन्दोलन सुरु भएको छ । बुधबार बिहानैदेखि स्थानीयले बजार र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।
प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।
बर्दिबासमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको हो ।












