काठमाडौं ।।  प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी राजदूत नियुक्तिदेखि, मन्त्रिपरिषद्, ‘रअ’का प्रमुखसँग भेटघाट,कर्णाली विवाद लगायतका विषय पदार्पण भएसँगै चुलिएको विवाद अन्तत अफ्ठेरो मोडमा पुगेको छ । यहि अफ्ठेरो मिलाउने प्रयासस्वरुप ओलीपक्ष र कार्यकारी अध्यक्ष प्रचण्ड पक्ष पछिल्लो केहि दिनदेखि गुटगत भेलादेखि गोप्य बैठक र सघन छलफलमा छन् ।

यसैबीच नेकपा विवाद चर्किरहेको बेला चिनियाँ राजदूत होउ यान्छीको ‘ईन्ट्रि’ भएको छ ।

पार्टी महासचिव विष्णु पौडेललाई ओलीले प्रचण्डसामू पठाएको प्रस्ताव फिर्ता लिनुपर्ने अनुरोध ठाडै अस्विकार गरेका प्रचण्डले कुनैपनि हालतमा आजका लागि पूर्वनिर्धारित बैठक बस्नुपर्ने जवाफ फर्काएपछि ओली आफूनिकट नेतासँग सघन भेटघाटमा जुटेका थिए ।

उता पूर्व माओवादीहरुको भेला पनि जारी रह्यो । आजको पूर्वनिर्धारीत बैठक बस्ने नबस्ने अन्यौलता बढेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि पुगेका थिए ।

प्रचण्ड शीतलनिवासबाट फर्किएलगत्तै यान्छी बालुवाटार पुगेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग भेट गरेकी थिईन् ।

यान्छीसँग भेट गरेलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका ओलीले राष्ट्रपतिसँगपनि निकैबेर छलफल गरेका थिए ।

यसअघि पनि पार्टीको विवाद गम्भिर मोडमा पुगेका बेला राजदूत यान्छीको भेटघाटले साम्य भएको थियो ।

त्यसैले सामाजिक सञ्जालमा यान्छीको सक्रियतालाई चासोपूर्ण तरीकाले हेरिएको छ ।

गएको १७ वैशाखमा पनि नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेता नेपाल, खनाललगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि चर्किएको विवाद राजदूत यान्छीको ‘ईन्ट्री’ सँगै साम्य भएको थियो । यान्छीले त्यसबखत राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । त्यतिमात्रै होईन फेरि १६ असारमा नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको विवाद २१ असारमा नेता नेपालसँग, २३ असारमा खनालसँग, २५ असारमा प्रचण्डसँग यान्छीले भेट गरेपछि थामथुम भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here