रौतहट ।। दीपावली पर्व सके सँगै अब लोकआस्थाको छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ । व्रत गर्नेहरुलेआज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत सुरु गरेका छन्। व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्ने गरेको छ ।

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपाली आज बुधबार देखी सुरु भएको छ। सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई तराई मधेसमा ‘नहाय–खाय’ भनिन्छ ।

यद्यपि बर्तालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको ख्याल सुरु गरिसकेका छन् ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् ।

दोस्रो दिनको यो विधिलाई तराई मधेसमा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिन्छन् ।
यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् ।

सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अर्घ देखाइएका सामग्री उदाउँदा सूर्यलाई देखाउँदै दोस्रो अर्घ दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मधेशमा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्व सम्पन्न भएसँगै बर्तालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् ।

यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ ।

तराई मधेशमा वर्षको दुईपटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती छठ भनिन्छ । यद्यपि जनजनलाई परिचालित गर्ने भने शारदीय छठ नै हो ।

तराईका सबै भेगमा अहिले बजाहरु चहलपहल निकै नै बढेको छ । पर्वमा गुवोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले राम्रो बजार पाएका छन् ।

त्यसैगरी यस पर्वका मिष्ठान्न परिकार ठकुवा, भुसुवासहितका सामग्री मिठ्ठा (सक्खर) मा बनाइने चलनले अहिले आम उखु किसान सक्खर बनाउन र बजार पु¥याउन व्यस्त देखिएका छन् ।
यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।
छठका लागि घाटको सरसजावटमा स्थानीयहरु जुटेको छ । पोखरी, नदी, कुवा लगायतका स्थानलाई सिंगारिँदै छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here