काठमाडाैं ।। आज कोजाग्रत पूर्णिमा, दसैँको टीका, प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दसैँ घरका सम्पूर्ण फूल प्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थ स्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिलबलिपूर्तिको काम पनि आजै हुनेछ । अखिलबलिपूर्ति भएसँगै विजया दशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजै देखि समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नवरात्र विजया दशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि गरिने छ । महालक्ष्मीको व्रतगर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आज देखि दसैँ पर्व सम्पन्नभई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ । तिहारको स्वागतमा आकाश दीप बाल्ने गरिन्छ । आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजे सम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्ने धर्म शास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । मध्य रातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको उहाँले बताउनुभयो । भोलि पूर्णिमा तिथि ३३ घडी १६ पलाअर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।
आज कोजाग्रत पूर्णिमाः दशैंको अन्तिम दिन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।