रौतहट ।। रौतहटको माधवनरायण नगरपालिकामा अज्ञात समूहले गोली प्रहार गरि हत्या गरिएका श्रीराम साहको १३ औँ दिनको पुण्य तिथिमा हनुमान मन्दिरको निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ । सोमवार नेकपा नेता तथा सांसद प्रभु साहको पहलमा सो मन्दिरको निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ ।
धार्मिक तथा सामाजिक कार्यमा लागेका नागरिकहरुमा नकरात्मक सोच उत्पन्न हुने भन्दै पुजारीको सम्मान स्वरुप हनुमान मन्दिर तथा मठ निर्माण गर्ने साहले बताउनु भएको छ । निस्वार्थ भावनाले पुजारी श्रीराम साहले आफ्नै लगानीमा सो स्थानमा हनुमान मन्दिर निर्माण गरि त्यसको हेरचाह समेत स्वयम पुजारीले नै गर्दै आउनु भएको थियो । शिलान्यास कार्यक्रममा सांसद साहसंगै मौलापुर नगरपालिकाको मेयर रीना कुमारी साह र माधवनारायण नगरपालिकाको उपमेयर सिमल कुमार साहले संयुक्त रुपमा मन्दिरको शिलान्यास गर्नु भएको हो । त्यागी एवं निष्ठावान पुजारी श्रीराम साहको सपनालाई अगाड़ी बढ़ाउन र पुजारीको योगदानलाई स्थापित गर्न प्रभु साहले उक्त मन्दिर निर्माण घोषणा गर्नु भएको बताउनु भएको छ । रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रमुखहरूले उक्त स्थानको निरीक्षण गरि सोही स्थानमा प्रहरी चौकी राख्ने प्रतिबद्धता समेत गर्नु भएको जनाइएको छ । नेकपाको नेता एवं बिधायक प्रत्याशी उपेन्द्र साह,प्रदेश कमिटी सदस्य त्रिभुवन साह, देवाही गोनाहीको उपमेयर सुनैना पटेल लगायत जनप्रतिनिधि, नेता एवं पुजारी श्रीराम साहको परिवारको सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।
गत भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे पुजारी साहलाई अज्ञात समुहले गोली प्रहार गरि हत्या गरेका थिए । माधव नारायण नगरपालिका९२ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो ।





