वासिङटन ।। अमेरिकी राष्ट्रपतिकी पत्नी मेलानिया ट्रम्प र छोरी इभान्काबीच तनाबले सामाजिक सञ्जालमा ठूलो रुप लिएको छ ।
रिपब्लिक पार्टीको अधिवेशनको अन्तिम रात बिहीबार ट्रम्पले आफ्नो पुन उम्मेदवारी घोषणाको लागि सम्बोधन गर्दै थिए । ट्रम्पसँगै विजयी मुस्कान सहित थिइन् ‘फस्र्ट लेडी’ मेलानिया जब स्टेजमा उनले ट्रम्पकी छोरी इभान्कालाई देखिन् । अचानक उनको अनुहारको भाव बदलियो । मानौँ कि, इभान्कालाई देखेर उनी तर्सिरहेकी थिइन् ।
ट्रम्प राजनीतिक मन्तव्य दिन व्यस्त भइरहँदा उनकी पत्नी मेलानिया भने सौतेनी छोरीप्रति ‘इगो’ देखाउँदै थिइन् । मेलानियाको त्यस्तो प्रतिक्रिया देखिने छोटो भिडियो केही मिनेटको अन्तरमै विश्वभर भाइरल बन्यो । थुप्रै अन्तर्राष्ट्रिय मिडियाले यसबारे समाचार बनाए ।
खासमा के भएको थियो ?
ट्रम्प र मेलानिया हात समातेर स्टेजमा उभिरहेका थिए । त्यस्तैमा इभान्का स्टेजमा आइन् । इभान्का आफूतर्फ आउँदै गर्दा ट्रम्प दम्पती उनलाई मुस्कान दिँदै थिए । इभान्का राष्ट्रपतिसँगै उभिनका लागि मेलानियाको छेउ भएर हाँस्दै जाँदै थिइन्, सुरुमा त मेलानियाले मुस्कान छरिरहिन् । इभान्का जब राष्ट्रपतिको दायाँपट्टी गएर उभिइन् त्यसबेला मेलानियाको अनुहार अचानक बदलियो । उनले आँखिभौँ उचालिन् । अनुहारमा आत्तिएको र रिसाएको भाव स्पष्ट देखिन्थ्यो ।
यससँगै मेलानिया र इभान्काबीच सम्बन्ध नराम्रो रहेको टिप्पणी पनि हुन थाल्यो । इभान्का डोनल्ड ट्रम्पकी पहिलो श्रीमती इभानाकी छोरी हुन् । इभान्का र उनका पति अहिले ट्रम्पलाई नजिकबाट प्रशासनिक काममा सघाउँदै आएका छन् । तर मेलानियाले जस्तो व्यवहार देखाइन् यो अनपेक्षित र अनौठो भन्दै धेरैले मेलानियाको आलोचना पनि गरेका छन् ।
श्राेत ः अन्नपूर्णा पाेषट