सर्लाही ।। सरकारले यो वर्षदेखि उखुको अनुदान रकम कटौति गरेपछि किसानले मंगलवारबाट आन्दोलन सुरु गरेका छन् । किसानले मंगलवार आ–आफ्नो जिल्लाको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्दै उखुको अनुदानका लागि आन्दोलन प्रारम्भ गरेका थिए । देशभरमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटै चिनी मिल अगाडि किसानले प्रदर्शन गरेका थिए । इन्दुशङ्कर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह अगाडि उखु किसानले प्रदर्शन गरेका थिए । आन्दोलित उखु किसानले २०६६ सालमा कडा आन्दोलन गरेपछि प्रदान गर्न थालिएको उखुको अनुदान रकमलाई निरन्तरता दिन, गत वर्ष बिक्री गरिएको उखुको सरकारले निर्णय गरे बमोजिम प्रतिक्विन्टल ७० रुपियाँका दरले हुन आउने एक अर्ब ६० करोड रुपियाँ तुरुन्त भुक्तानी गर्न र उखुको मुल्य निर्धारण गर्दा उखु किसानका प्रतिनिधि, सरकारका प्रतिनिधि र चिनी उद्योगबिच वार्ता गराउन माग राखेका छन् । सरकारले गत वर्षको अनुदान बापत प्रदान गर्नुपर्ने प्रतिक्विन्टल ७० रुपियाँको साटो ३५ रुपियाँ मात्रै दिने चर्चा भइरहेको भन्दै त्यो मान्य नहुने उखु किसानको भनाइ छ । साउन महिनाभित्र माग सम्वोधन नभए भदौ ८ गतेदेखि देशभरका उखु किसान काठमाडौंको माइतीघरमा गएर धर्नामा बस्ने केन्द्रीय उखु सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले जानकारी दिए । उखुको अनुदानलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री, कृषि मन्त्रीलगायतलाई भेटेर भद्र ढङ्गले ज्ञापन पत्र बुझाउने काम गरिसकेको भन्दै साउन महिनाभित्र आफूहरुको माग सम्वोधन हुने आन्दोलित उखु किसानले आश व्यक्त गरेका छन् । उखु किसान सङ्घर्ष समितिका सह–संयोजक उप्रेतीले उखुको अनुदान रकमलाई कटौति गरे किसानले उखु खेती छाड्दै जाने र चिनी मिल बन्द हुने अवस्था आएर देशभरमा चिनीको हाहाकार हुने अवस्था आउने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here