काठमाडाैं ।। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । आईसीसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण आजबाट सुरु हुन लागेको हो । यसअघि क्यानले हिजोबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो । जसका लागि खेलाडीलाई शनिबारसम्म होटलमा रिपोर्टिङ गर्न पनि अनुरोध गरिएको थियो । तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ नगरेपछि प्रशिक्ष्ण प्रभावित भएको थियो । कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । केन्द्रिय सम्झौताको विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए । यस्तै क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । तर, क्यानले कारबाहीमा परेका चार खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टको ग्रेडिङमा समावेश गराउने भएपछि सहमति बनेको हो । क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको छ ।
क्यान र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण आजबाट सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।