काठमाडौं ।। कक्षा १२ काे परिक्षा भाेली मंगलबार ( मंसिर ९ गते) देखी सुरू हुने भएकाे छ । सरकारले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका छन् । परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन उनको अपिल छ ।
यस्तै परीक्षा केन्द्र वरपर भीडभाड नगर्न मन्त्री पोखरेलले अभिभावकसँग आग्रह गरेका छन् । यता, परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड संक्रमण पुष्टि भएर सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको पनि उन स्पष्ट पारेका छन् ।
सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य
सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुनेछ । विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्नेछ । एउटा कोठामा बढीमा २० जना परीक्षार्थी मात्र राख्न पाइनेछ । विद्यार्थीलाई दुई, दुई मिटरको दूरीमा मात्रै राख्नुपर्नेछ । कुनै परीक्षार्थीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा छुट्टै कोठाको व्यवस्था गर्नुपर्नेछ ।
राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन बोर्डले निर्देशन दिएको छ । भोलिदेखि सुरु हुने परीक्षा मंसिर १६ मा सकिनेछ ।












