काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो । दिउँसो ३ बजे चिकित्सकहरुले शल्यक्रिया सफल भएको जानकारी दिएका थिए । झन्डै दुई दर्जन चिकित्सक शल्यक्रियामा सहभागी भएका थिए । शल्यक्रिया सफल भएपछि चिकित्सकहरुले खुसी व्यक्त गरेका छन् । अस्पताल बाहिर बाक्लो सङ्ख्यामा रहेका नेकपाका कार्यकर्ता, सर्वसाधारणले पनि खुसीयाली मनाइरहेका छन् । नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसहित शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने ९ जना पुगेका छन् । हालसम्म शिक्षण अस्पतालमा मात्रै झन्डै ७ सय जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । विभिन्न निजी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण गरिन्छ । प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । यसैबीच प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न होस् भन्ने कामना गरेको छ । आज विशेष प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाले मिर्गौला प्रत्यारोपण सफलताको कामना गर्नुका साथै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।